नजिक सम्बन्ध भएकाहरुसँग पासवर्ड सेयर गर्नुहुन्छ ?
9:35 PM![]() |
विश्व झन् झन् साँघुरिँदैछ, प्रविधिले गरेर । मोबाइलकै मद्दतले अचेल सबथोक गर्न सकिन्छ, आर्थिक क्रियाकलापदेखि मानवीय भावना पोख्न ठाउँ पनि बनेको छ, यो । यस्तोमा विश्वास र गोप्यताको प्रसङ्ग पनि यससँग जोडिन आउने गर्छ । जत्तिकै नजिकको सम्बन्ध भए पनि, जत्तिकै विश्वास भएको भए पनि के मोबाइलकै मद्दतले ती सबै क्रियाकलापहरूसँग कसैको पहुँच हुन सक्छ त ? पासवर्ड सेयर गर्न सकिन्छ, अथवा गर्नु हुन्छ त ? केही सेलिब्रिटी र आम विद्यार्थीको विचार बुझ्न चाहेको छ, हेलो शुक्रबारले ।
अश्मि श्रेष्ठ, मिस नेपाल
मैले आज के–के काम गर्नुपर्ने हो, कोसँग भेट्नु छ, सबै सेड्युल मोबाइलमा सेभ गरेकी हुन्छु । मिटिङमा भएका निर्णयहरू पनि त्यसैमा हुन्छ । त्यसैले यदि मोबाइल हराइहाल्यो भने, मेरो दैनिक तालिका पूरा गडबड हुन्छ । त्योभन्दा पनि मैले सुरक्षित गरेका यस्ता फोटाहरू हराउँछन्, जो चाहेर पनि कलेक्सन गर्न सक्दिनँ । मोबाइल भनेको आफ्नो निजी हो । यो अरूलाई दिने, सेयर गर्ने होइन । मोबाइलको सेक्युरिटी की आफैंसँग सुरक्षित हुनुपर्छ । फेसबुकको पासवर्ड पनि सेयर गर्न हुन्न । चाहे त्यो ब्वाइफ्रेन्डसँग होस् वा श्रीमान्सँग नै । किनभने हरेकको आ–आफ्नो प्राइभेट जीवन हुन्छ । जियोनी एस–६ बाटै म फेसबुक, इन्स्टाग्राम चलाउँछु । न्युजहरू अपडेट भइरहेकी हुन्छु । तर, मोबाइलबाट सोसल नेटवर्क साइटहरू प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । दोस्रो मोबाइल, डिभाइस, एप्स वा ब्राउजरबाट फेसबुक एकाउन्ट लगअन गर्दासमेत सेक्युरिटी सिस्टमको ख्याल गर्नुपर्छ । बेलाबेला फेसबुकको पासवर्ड चेन्ज गरिरहनुपर्छ ।
नवयुग श्रेष्ठ, फुटबलर
म सामसुङको एस–७ एड्ज चलाउँछु । यसैमा गेम खेल्छु, फेसबुक चलाउँछु, भिडियो हेर्छु । मैले मोबाइलबाट बैंकिङ कारोबार गरेको छैन । तर, आफ्नो पारिश्रमिक आएको यसैबाट थाहा हुन्छ । हामी ग्रुपमा बस्ने भएकाले एकअर्काको मोबाइल चलाइरहेका हुन्छौं । निजी मोबाइल अरूलाई छुनै दिन हुन्न भन्ने लाग्दैन । तर, विश्वास हुनुपर्छ । अहिले मोबाइलबाट धेरै किसिमका कामहरू भइरहेको हुन्छ । कति प्रसंगमा गोप्यता पनि चाहिन्छ । अहिले मोबाइलका कारण फेसबुक चलाउन सजिलो भएको छ । तर, कामधन्दै छाडेर फेसबुकमा भुल्नु ठीक लाग्दैन । फेसबुकमा धेरै विश्वास पनि गर्नु हुँदैन । यसमा त नानाथरीका कुराहरू हुन्छन् । त्यो सबैलाई पत्याउने पनि हुँदैन । फेसबुक चलाउँदा सचेत हुनुपर्छ ।
इन्दिरा जोशी, गायिका
मलाई मोबाइलप्रति उस्तो आशक्ति छैन । कहिलेकाहीं घरमै पनि छोडेर हिँडिदिन्छु । मोबाइलमै लम्पट भएर लागेको त्यति मन पर्दैन । मोबाइल अरूलाई दिनै हुन्न भन्ने पक्षमा पनि छैन । अक्सर कार्यक्रममा म सहयोगी साथीको हातमा मोबाइल दिएको हुन्छु । कन्सर्टमा फोटो खिच्नका लागि पनि अरू कसैलाई मोबाइल दिन्छु । मेरो मोबाइलको सेक्युरिटी की छैन । एकदमै खुला छ । फेसबुक, इन्स्टाग्राम चौबिसै घण्टा अन हुन्छ । तैपनि मैले यसबाट कुनै समस्या बेहोर्नुपरेको छैन । किनभने मेरो फ्रेन्ड सर्कल नै विश्वासिलो र अरूको चियो चर्चा नगर्ने खालका छन् । घरमा पनि अरूको फोन हेर्ने, उठाइदिने गर्दैनन् । मेरो भन्नुको अर्थ यो होइन कि, फोन जथाभावी छोड्दा हुन्छ । यो एकदमै निजी कुरा हो । कति निजी कुराहरू अरूसँग सेयर गर्न मिल्दैन पनि । यसका निम्ति सेक्युरिटी टुल्सहरूको प्रयोग गर्नुपर्छ, ढुक्क हुन्छ । म सामसुङको ग्यालेक्सी नोट थ्री बोक्छु । यसमा मेरो धेरै सम्पर्क नम्बर छन् । फोटाहरू पनि यसैमा राखेकी छु । दिनभर गर्नुपर्ने कामको सेड्युल पनि मोबाइलमै हुन्छ । त्यसैले मोबाइल हरायो भनेचाहिँ बर्बादै हुन्छ जस्तो लाग्छ ।
ममता चापागाईं, मोडल
मोबाइलले हामीलाई धेरै कुुरामा सहज बनाइदिएको छ । मोबाइलकै माध्यमबाट धेरै कामहरू पनि भइरहेको छ । सदुपयोग गर्न सक्यो भने मोबाइल एकदमै उपयोगी छ जस्तो लाग्छ । तर, अहिले बढी मात्रामा यसको दुरुपयोग भइरहेको हो कि जस्तो लाग्छ । या त हामीले यसलाई सही रूपमा प्रयोग गर्न सकिरहेका छैनौ कि जस्तो लाग्छ । किनभने जतासुकै हेरौं, सवैजना मोबाइलमा झुन्डिरहेका हुन्छन् । कोही कसैसँग कुराकानी गरिरहेकै हँुदैनन् । या मोबाइलमा गेम खेलिरहेका हुन्छन्, या त फेसबुकमा झुलिरहेका हुन्छन् । यसरी वास्तविक संसारलाई छाडेर भर्चुअल संसारमा रमाउनु पनि त्यति राम्रो होइन होला । साथै पर्सनल कुराहरू सेयर गर्ने, साथीलाई देखाउने पनि होइन । यसले निकै ठूलो समस्यामा पार्न सक्छ ।
सम्पदा श्रेष्ठ, विद्यार्थी
मलाई लाग्छ, अहिलेको पुस्ताले मोबाइल सेल्फी खिच्न, फेसबुक चलाउन, गेम खेल्न बढी प्रयोग गर्छन् । हामी पनि प्राय: मोबाइलमा यस्तै कुरामा रमाइरहेका हुन्छौं । प्रविधिप्रति रूची हुनु नराम्रो होइन । यसलाई धेरै भन्दा धेरै उपयोग गरेर हामीले आफ्नो जीवनलाई सहज र छरितो बनाउन सक्छौं । अहिले बत्तीको बिल तिर्ने, वैंकिङ कारोवार गर्ने, अनलाइन सपिङ गर्ने काम पनि मोबाइल मार्फत हुन थालेको छ । तर, यसले सुविधा मात्र दिएको छैन, सुरक्षा खतरा पनि बढएको छ । मोबाइलकै कारण अहिले मान्छेको गोपनीयता सजिलै भंग हुन सक्छ । कलहको विउ पनि यही नै बन्ने गरेको छ । खासगरी मोबाइलमा खिचिएको निजी फोटो, भिडियो सजिलै अरूको हातमा पुग्ने डर हुन्छ । त्यस्तै, यसैमा फेसबुक चलाउने भएकाले पासवर्ड ह्याक गरेर अरूले आफ्नो गोपनीयता थाहा पाउन सक्छन् । यस्तोमा विचार पुर्याउनु पर्छ ।
![]() |

0 comments