हिपहपमा लोक स्टेप मिसाउँदै
6:21 AM![]() |
गायक अल्मोडा राना उप्रेतीले गाएको ‘पानी पर्यो...’ गीत जति चर्चित भयो, उति नै त्यसको कभर भिडियो पनि। द कार्टुन्ज क्रुले बनाएको भिडियो युट्युबमा अपलोड भएको नौ दिनमै नौ लाखपटक हेरिएको छ। तर, गायक उप्रेतीले स्वीकृतिबिनै भिडियो बनाएको भन्दै युट्युबमा निवेदन हालेपछि क्रुको भिडियो युट्युबले हटाइदिएको समेत थियो।
‘गायक र हामीबीचको असमझदारी अब हटिसकेको छ,’ क्रुका सदस्य सरोज अधिकारीले भने, ‘दुई महिनाको प्रतिबन्धपछि भिडियो पुन: युट्युबमा आएको छ।’ हाल भिडियोको भ्युज १० लाख बढी छ भने २९ हजार बढीले सबस्क्राइब गरेका छन्। यही नृत्य समूहले छ दिनअघि मात्रै राखेको ‘गोर्खाली तक्मा’ ब्यान्डको ‘वाकिङ फिलिली’ को कभर भिडियो पनि निकै रुचाइएको छ।
चलचित्र ‘रेसम फिलिली’ को गीत ‘पारी त्यो डाँडामा...’ को पहिलो कभर भिडियो आफूहरूले नै बनाएको समूहको दाबी छ। ‘त्यो बेला नेपालमा डान्स भिडियो बनाएर युट्युबमा राख्ने चलन आइसकेकै थिएन,’ मंगलबार क्रुले अभ्यास गर्ने चक्रपथस्थित त्रिकाल आर्ट एकेडेमीको स्टुडियोमा भेटिएका टोली सदस्य सविन कार्कीले भने, ‘हामीले भिडियो हालेपछि अरूले पनि हुरुरु अपलोड गर्न थाले।’
अरूले जेसुकै गरून्, सात सदस्यीय क्रु भने हिपहप र आरएन्डबी डान्सभित्र नेपाली स्टेप मिसाउन माहिर छ। धेरैले क्रुको प्रशंसा पनि गर्छन्। कोरियोग्राफर रेनाशा राई हिपहप डान्स फर्मलाई नेपालीकरण गर्नु नै यो समूहको बलियो पक्ष रहेको बताउँछिन्। ‘हामीकहाँ फ्री स्टाइल गर्नेहरू धेरै छन्,’ उनले भनिन्, ‘तर, फ्री स्टाइलबाटै नेपालीपन झल्काउने काम क्रुले मात्रै गरेको छ।’
सन् २०१० मा सरोजसहित कीर्तिपुरका ९ युवाले ‘ब्वाइज अफ कीर्तिपुर’ नामबाट सुरु गरेको नृत्य यात्रा सन् २०११ देखि ‘द कार्टुन्ज क्रु’ मा बदलिएको थियो। सोही वर्ष राष्ट्रिय स्तरको बी(बोइङ ब्याटल अफ द इयर (बोटी) मा प्रथम स्थान हासिल गरेको समूह सन् २०१५ मा भने अमेरिकास्थित वल्र्ड लिजर अर्गनाइजेसनले प्रत्येक पाँच वर्षमा आयोजना गर्दै आएको वल्र्ड लिजर गेम्सको स्ट्रिट डान्स विधामा दोस्रो भएको थियो। स्थायी नीति–नियमबिनाको डान्स फर्म भएकाले फ्री स्टाइलबाटै आफूहरूले प्रतिभा देखाएको समूहकी एक मात्र महिला सदस्य आस्मा विश्वकर्मा उर्फ ‘प्वाले’ बताउँछिन्।
‘हामी लोक नृत्यका स्टेप पनि हिपहपकै चालमा देखाउँछौं,’ उनले भनिन्, ‘विभिन्न जातजातिका नृत्यलाई यसरी नै प्रवद्र्धन गर्ने विचार छ।’ समूहका कोरियोग्राफरसमेत रहेका सविन र सरोज चाहिँ डान्स एल्बम निकाल्ने ध्याउन्नमा छन्। त्यसका लागि समूहले अरूका गीतमा नाचेर नभई आफ्नै गीत निकालेर भिडियो गर्ने सोच बनाएको उनीहरू बताउँछन्।
नेपाली म्युजिक भिडियोहरूमा गीतअनुसारको नृत्य नभएको भन्दै उनीहरू आफैँ कोसिस गरौँ भनी यतातिर लागेका थिए। सन् २०१४ मा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘परिवर्तन’ कार्यक्रमको प्रचारका लागि बनाइएको भिडियो युट्युब र फेसबुकमा भाइरल भएपछि सोसल मिडियातिरै अडिएको उनीहरू बताउँछन्। आधा दर्जन मात्रै भिडियो बनाएका भए पनि समूहको चर्चा हिजोआज बढ्दो छ।
सविन, सरोज र आस्मासँगै विकास राई, लाक्पा लामा, राम गुरुङ र सुविन चौहान आबद्ध समूहले भिडियो निर्माणका लागि स्टेज सोहरू गर्दै आएको छ। नेपालका विभिन्न प्रमुख सहरदेखि भारत र चीनमा समेत कार्यक्रम गरेको टोली दिनको करिब पाँच घन्टा नियमित अभ्यासमा जुट्ने गरेको छ। ‘अरूले पनि सिकाइदिनु भन्छन् तर आफू बलियो नभई अरूलाई सिकाउन थाल्यो भने नवगायकले पबमा गाएसरह होला भनेर सिकाएका छैनौँ,’ सविनले भने।
![]() |

0 comments