सल्मान को "सुल्तान्" फिल्म हेर्न तलको लिन्क मा क्लिक गर्नुहोस

6:40 AM

पछिल्लो समय नेपालमा किताबको बजार बढेको हो कि होइन भन्ने चर्चा निकै चलेको छ । एकथरी बजार साँच्चिकै बढेको हो भनिरहेका छन् भने एकथरी आलोचकहरुले सिमित किताबको मात्रै बिक्री भएको दलील दिँदै यसलाई फेसन भनेका छन् ।
किताबको बजारमा यस्तो दुविधा देखिए पनि फिल्मको सवालमा भने स्पष्ट भन्न सकिन्छ– नेपालमा फिल्मको बजार बढेको छ । भूकम्पपछि रिलिज भएका नेपाली फिल्मको पाएको सफलता यसको एउटा आधार हो भने नेपाली बजारमा हिन्दी फिल्महरुले गरिरहेको कमाई अर्को आधार । 
नेपालमा आफ्नै फिल्म बन्नुभन्दा पहिले अरुको फिल्म प्रदर्शन गरेर फिल्म व्यवसाय शुरु भएको हो । यसैले नेपाली फिल्मको इतिहासभन्दा नेपालमा हिन्दी फिल्म प्रदर्शनको इतिहास लामो छ । सायद, यसैले होला अहिले पनि नेपाली फिल्म बजारका सबभन्दा ठूलो खेलाडी हिन्दी फिल्म नै छ । 
केहीअघि आएको आमिर खानको फिल्म ‘धुम ३’ले नेपालमा मात्रै करिब ६ करोडको व्यापार गरेको थियो (यसलाई गोपीकृष्णले १ करोड २५ लाखमा ल्याएको थियो) । त्यतिबेलाको अनुमान अनुसार त्यो नै नेपालमा सबभन्दा ठूलो कारोबार गर्ने फिल्म थियो । तर, त्यसपछि केही नेपाली फिल्मले पनि ग्रस कलेक्सनमा यसलाई उछिनेको अनुमान गरिन्छ । यसमा श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको ‘कोहिनुर’ र प्रशान्त तामाङले अभिनय गरेको ‘परदेशी’को नाम लिइन्छ । यस्ता एक दुई फिल्म छोडेर समग्रमा हेर्ने हो भने चाहिँ सबभन्दा धेरै कारोबार गर्ने राजधानी लगायतका मुख्य हलमा हिन्दी फिल्मकै बोलबाला देखिन्छ । 
यसको उदाहरण हो, यो साता प्रदर्शनमा आउन लागेको हिन्दी फिल्म ‘सुल्तान’ । सलमान खानले अभिनय गरेको यो फिल्म इस्लाम धर्माबलम्बीको पवित्र चाड इद उल फित्रको बिदालाई लक्षित गरि बुधबारदेखि नै रिलिज गरिंदैछ । पछिल्ला वर्षहरुमा बलिउडको बजार इदमा सलमानकै फिल्मले कब्जा जमाउने गरेका छन् । करिब ६ महिनापहिले काठमाडौं आएका भारतीय फिल्म समीक्षक प्रमेन्द्र मजुमदारले त्यतिबेलै भनेका थिए– ‘सलमानको फिल्मको अहिले कथा पनि टुंगो पनि लागेको छैन तर हल भने बुक भइसकेका छन् ।’
राजधानीको प्रमुख फिल्म प्रदर्शक क्युएफएक्सले ‘सुल्तान’लाई दिएको सो हेर्दा उनको भनाई नेपालमा पनि सत्य सावित हुन्छ । क्युएफएक्सले आफ्ना चार वटा हलमा बुधबार सुल्तानका लागि २७, बिहीबार २९ र शुक्रबार २८ वटा सो दिएको छ । यस्तो लाग्छ, ‘सुल्तान’ फिल्मी बजारमा आएको सुनामी हो, जसका अगाडि अरु फिल्मको कुनै अस्तित्व छैन । हाम्रो चिन्ता चाहिँ के हो भने कतै यो सुनामीमा नेपाली फिल्म बगिरहेका त छैनन् ?
बीपी कोइरालाको उपन्यासमाथि बनेको भनेर राम्रो चर्चा पाएको फिल्म ‘तीन घुम्ती’ र सौगात–कर्मले अभिनय गरेको ‘लुकामारी’ यो सुनामीको पहिलो शिकार भएका छन् । बुधबारदेखि नै क्युएफएक्समा यी फिल्मले कुनै पनि सो पाउने छैनन् । 
‘सुल्तान’का लागि नेपालको वितरक गोपीकृष्णले ३ करोड २० लाख रुपैयाँ तिरेको छ । यो आजसम्म नेपालमा ल्याइएको सबभन्दा महंगो विदेशी फिल्म हो । यति धेरै पैसा खर्च गरिएपछि उठाउनका लागि सो पनि धेरै दिनु नै पर्‍यो । सामान्य हिसाबले पनि हल र वितरकको सेयर बाड्दा नाफा हुनका लागि कम्तिमा यसको दोब्बर (६ करोड ४० लाख) रुपैयाँको कारोबार हुनुपर्छ । यसका वितरक गोपीकृष्णका एक कर्मचारीले यो रकम तीन दिनको कारोबारमा उठिसक्ने अनुमान गर्छन् । 
यसरी हेर्दा देखिन्छ, नेपालमा फिल्मको बजार सानो छैन । औसतमा ४० देखि ५० लाखको लगानीमा बन्ने नेपाली फिल्मका लागि ६ करोडको यो बजार ठूलो हो । यसैले भन्न सकिन्छ– नेपालमा फिल्मको बजार सानो छैन । तर, प्रश्न उठ्छ बजार कसका लागि सानो छैन ? के कुनै नेपाली फिल्मका लागि वितरक वा निर्माताले यति नै आत्मविश्वासका लागि लगानी गर्न सक्छन् ?
यसैले सवाल यी एक वा दुई फिल्मको होइन, सवाल हाम्रो फिल्म बजार कसको नियन्त्रणमा गइरहेकोछ भन्ने हो ? हाम्रो सहर बजारमा खुलिरहेका राम्रा र ठूला फिल्म हल के बलिउडका लागि पैसा कमाइदिने अड्डा बनिरहेका छन् ? तिनमा हिन्दी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने फिल्म नेपालमा बनिरहेका छन् ?  
पछिल्ला वर्षहरुमा युवाहरुलाई लक्ष्यीत गरेर बनाइएका केही नेपाली फिल्मले मल्टिल्पेक्समा राम्रै व्यापार गरे । यसबाट के देखिएको थियो भने नेपाली फिल्मको लगानी उठाउन देशैभरी फिल्म चल्नु पर्दैन । काठमाडौं र केही ठूला सहरका मल्टीप्लेक्समा मात्रै चले पनि पैसा उठ्छ । तर, त्यस्ता नेपाली फिल्मको संख्या निकै थोरै छ । बलिउडमा भने हरेक हप्ताजसो ठूलो स्टार र गतिलो पब्लिसिटी गरिएका फिल्म रिलिज हुन्छन् । 
यसरी हेर्दा के देखिन्छ भने, नेपालमा बनेका महंगा र राम्रा हलमा चलाउन पुग्ने नेपाली फिल्म नै बनिरहेका छैनन् । फिल्मको गुणस्तर, तिनले उठाउने विषय र मौलिकताको सवाल त झन् धेरै पर छ । मुख्य विषय त नेपाली फिल्मको विषय र शैली नै हो । तर, यसलाई छोडेर बजारकै कुरा गर्दा पनि, बजारमा खपत हुने यथेष्ट संख्यामा गुणस्तरीय फिल्म नबन्दा हाम्रो बढिरहेको बजार हिन्दी फिल्मको कब्जामा पुगिरहेको छ । 
यदि, नेपालमा नै गुणस्तरीय र राम्रा फिल्म निर्माण ठूलो संख्यामा नहुने हो भने हाम्रो बजार बलिउडको नियन्त्रणमा पुग्ने देखिन्छ । नेपालका ठूला र राम्रा हल बलिउडका यशराज र धर्मा प्रोडक्सनका लागि पैसा कमाइदिने थलो बन्नेछन्, जुन अहिले पनि बनिरहेकै छन् । फिल्मको गुणस्तर नबढाइकन दर्शकलाई भाषा वा राष्ट्रियताको दुहाई दिएर आफ्नो फिल्म देखाउन सकिदैन । दर्शकसँग आफ्नो रुचीको फिल्म रोजेर हेर्ने स्वतन्त्रता हुन्छ । त्यो स्वतन्त्रताको उपभोग गर्दा नेपाली फिल्म नै प्राथमिकतामा पर्नेगरि राम्रा फिल्म निर्माण गर्ने चुनौती नयाँ पुस्ताका फिल्ममेकरहरुलाई छ ।

सरकारी निकायले नै विदेशी फिल्म प्रदर्शनमा बन्देज, नियन्त्रण वा कोटा तोकेको खण्डमा प्रतिस्र्धा कम होला । संसारका कतिपय देशले यस्तो कोटा पनि तोक्ने गरेका छन् । कोटा नतोक्ने देशहरुमा अरुका फिल्मले धेरै कमाई गरेका उदाहरण अन्त पनि छन् । भारतमै पनि यस वर्ष हलिउडको फिल्म ‘द जंगल बुक’ले कमाईमा सबै हिन्दी फिल्मलाई जितेको थियो (जसलाई सुल्तानले तीन दिनमै उछिन्ने अनुमान गरिएको छ) । 
बलिउड आफैंमा धेरै ठूलो फिल्म उद्योग हो । हिन्दी फिल्म बाहेक दक्षिण भारतमा पनि भारतको ठूलो फिल्म बजार छ । यसैले एउटा दुईटा अंग्रेजी फिल्मले धेरै कमाई गर्दा बलिउडको आफ्नो बजार नै गुम्ने चुनौती हुँदैन, जति नेपाली फिल्मका लागि आफ्नो बजारमा हिन्दी फिल्मको चुनौती छ । यो चुनौती पार लगाउन नसक्ने हो भने हरेक वर्ष ‘सुल्तान’जस्ता सुनामी आइरहने छन् र हाम्रो बजारलाई डुबाएर जानेछन् । 


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images