'फोर जी' सेवाः प्रचार धेरै काम थोरै (पहिलो चरणमा सहरी क्षेत्रमा मात्रै सिमित)
7:04 AM![]() |
हाइस्पिडको इन्टरनेट मोबाईल प्रविधि ‘फोर जी’ सेवा विस्तारको बारेमा प्रचार प्रसार धेरै भएपनि यसका लागि नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र एनसेलले भने आवश्यक तयारी नै पूरा नगरेको देखिएको छ।
असार महिनाभित्र अनुमति प्रदान गरिसक्ने घोषणा गरेको प्राधिकरण अझैसम्म पनि नीतिगत प्रक्रियामा अल्झिएको छ।
अहिले चलिरहेकै १८ सय मेगाहर्जको ब्यान्डलाई न्यूट्रल गरेर अनुमति दिने कि ७ सय वा २५÷२६ सय मेगाहर्जको नेटवर्कको नयाँ ब्यान्डमा दिने भन्ने छलफल अहिलेसम्म टुङ्गिएको छैन।
प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार सेवा विस्तारको लागि प्राधिकरणले दुरसञ्चार नीतिमा गर्नुपर्ने संसोधनको लागि सिफारिस गरेपछि उक्त नीति मन्त्रिस्तरीय ‘रेडियो निर्धारण समिति’बाट पारित भएर आउँछ। त्यहाँबाट आएपछि प्राधिकरणले सेवा विस्तारको लागि अनुमति प्राप्त गर्न सूचना जारी गर्दछ।
प्रवक्ता मिनप्रसाद अर्यालले भने, ‘ढिलोमा यही शुक्रबारसम्म सिफारिस पठाईसक्छौँ, त्यसपछि समितिबाट पारित भएर आउने वित्तिकै सूचना जारी गरिहाल्छौं।’
लाईसेन्स प्रदान गर्न अपनाईने मोडल, मूल्य, तथा पूर्वाधारको विषयमा विभिन्न मतहरु छन् तर यी बिषयमा प्राधिकरणले हालसम्म टुङ्गो लगाउन सकेको छैन।
अहिले ‘टु जी’ सेवा प्रवाह भइरहेको १८ सय मेगाहर्जको ब्यान्डलाई न्यूट्रल गरेर अनुमति दिँदा मूल्य निर्धारण गरेमात्र पुग्ने तर नयाँ ब्यान्डबाट दिनु परे बोलकबोलको माध्यमबाट दिनुपर्ने हुँदा प्रक्रिया अझ लम्बिन सक्ने छ।
तर दुईवटा मोडालिटीमा कुन अपनाउने भन्ने कुरामा रेडियो फ्रिक्वेन्सी समितिलाई नै अन्तिम निर्णयको अधिकार दिइने अर्यालले जानकारी दिए ।
यद्यपी प्राधिकरणले सेवा विस्तारको लागि अनुमति प्रदान तत्काल गरेपनि उपभोक्ताले तत्काल उपभोग गर्न पाउने छैनन् भने सबै क्षेत्रमा त झनै नपाउने भएका छन् ।
प्रवक्ता अर्यालका अनुसार सेवा विस्तार अनुमति प्राप्त सेवा प्रदायकले इक्युपमेन्टको व्यवस्था गर्न समय लाग्ने भएकोले उपभोक्तले सेवा उपभोग गर्ने समय अझै लम्बिन सक्नेछ।
‘फोर जी सेवा द्रुत गतिको सेवा त हो नै, त्यसमा यसको मूल्य पनि तुलनात्मक रुपमा बढी हुनसक्ने भएकोले यसको ग्रामिण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा माग बढी हुनसक्छ। त्यसैअनुसार सेवा प्रदायकले सेवा विस्तार गर्न सक्छन्,’ अर्यालले भने, ‘हामीले अनुमति त देशव्यापी नै दिने हो तर मागको आधारमा स्वभाविकरुपमा सहरी क्षेत्रमा बढी माग हुने भएकोले त्यहाँ बढी केन्द्रित हुन सक्छ। ’
पहिलो चरणमा सहरी क्षेत्रमा मात्र केन्द्रित हुने संकेत सेवा प्रदायकले पनि दिएका छन्।
ग्राहकको माग र पूर्वाधारको अवस्थालाई मध्यनजर गरेर सुरुमा सहरी क्षेत्रमा मात्र सेवा विस्तार केन्द्रित हुने नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले सेतापाटीसँग बताए।
उनले भने, ‘तत्कालको लागि हामी ग्रामिण क्षेत्रमा ‘थ्री जी’ सेवा विस्तार र सहरी क्षेत्रमा ‘फोर जी’ सेवा विस्तारको लागि तत्पर छौं।’
त्यस्तै टेलिकमसँग फोर जी सेवा विस्तारको लागि केही पुर्वाधार अहिले नै भएको तर रेडियो नेटवर्क र कोर इक्युपमेन्टहरु भने अनुमति प्राप्त गरिसकेपछि मात्र खरिद गर्ने अधिकारीले जानकारी दिए। यसै कारणले अनुमति पाएपछि पनि केही समय व्यवस्थापनमै लाग्ने हुनाले फोर जी सेवा विस्तार समय केही लम्बिन सक्ने अधिकारीको भनाइ छ।
![]() |

0 comments