माओवादी सरकारबाट हटे एमालेको समर्थन कांग्रेसलाई !
5:08 AM![]() |
एउटा सरकारमा बसेर लाभ लिंदै अर्काे सरकार बनाउने खेलमा माओवादी नेतृत्व सक्रिय भएपछि प्रधानमन्त्री केपी शर्मा ओली सरकार छोड्नु परे कांग्रेसलाई समर्थन गर्ने मनस्थितिमा पुग्नु भएको बुझिएको छ । संयुक्त सरकार सञ्चालनको न्युनतम मर्यादा पनि पालना नगरी सरकार परिवर्तनको खेलमा सक्रिय रहेकाले अव माओवादीलाई नफकाउने मुडमा प्रधानमन्त्री पुग्नु भएको निकट स्रोतको दाबी छ ।
‘संयुक्त सरकार गठन गर्दा तय गरिएका उद्धेश्यतिर मतलव नगर्ने तर, संबेदनशील समयमा सरकार परिवर्तनको हल्ला चलाएर काममा अवरोध गर्ने र अस्थिरता निम्त्याउने काम माओवादीबाट भयो’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘उसले जे गर्न खोजेको हो, क्लियर गरे हुन्छ, यो सरकारमा बसेर आजै सरकार परिवर्तन भोलि नै सरकार परिवर्तनको गतिविधि लाजमर्दाे र संस्कारहीन खेल हो, त्यस्तो अनैतिक स्वार्थलाई मलजल गरेर साझेदारी अगाडि बढ्दैछ ।’
प्रधानमन्त्री ओली आफ्नो सरकारले देशलाई संकटबाट मुक्त गरेर स्पष्ट मोड दिन सफल रहेकोले आफू मिसनमा सफल रहेको निश्कर्षमा हुनुहुन्छ । नाकाबन्दीजस्तो अस्त्र प्रयोग गरेको एउटा छिमेकीलाई देशको स्वार्थमा एक इन्च पनि नझुकी ठीक ठाउँमा ल्याउनु र अर्काे छिमेकी देशसँग पारवहन र ब्यापार सम्झौता गरी वैदेशिक सम्बन्धमा नयाँ मोड दिन सफल रहेकाले पनि ओली आफ्नो मिसनमा सफल हुनु भएको थियो । दुई छिमेकी देशका राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल राष्ट्रको सार्वभौमिकताको उचाइ माथि पुर्याउने र त्यसबेला हुने महत्वपूर्ण सम्झौताले देश नयाँ मोडमा पुग्न लागेका बेला सरकार परिवर्तनका लागि माओवादीका नेताहरुको अधिक सक्रियताले ओली नयाँ निश्कर्षमा पुग्नु भएको वताइन्छ ।
हङ पार्लियामेन्टको संसदीय गणितलाई आधार बनाएर अनावश्यक र हुन नसक्ने कामका लागि पनि सम्झौता गराउन खोज्ने र त्यसको कार्यान्वयन नभएको हल्ला चलाएर सरकार परिवर्तनको औचित्य स्थापित गर्न खोज्ने माओवादीको ब्यवहारबाट प्रधानमन्त्री ओली आजित हुनुहुन्छ । ‘संबैधानिक अंग, न्यायिक निकायले गर्नु पर्ने काम पनि प्रधानमन्त्रीले गरेन भनेर हल्ला चलाउने, संसदमा रहेका अरु दलको सहमतिमा मात्रै हुन सक्ने काम पनि भएन भनेर सरकार परिवर्तनको औचित्य सावित गर्न खोज्ने काम भएको छ । निरन्तरका यस्ता किचकिच स्वीकार गरेर सरकार चलाउनु भन्दा आफू प्रतिपक्षमा बसेर संसदको ठूलो दललाई सरकारमा समर्थन दिनु उपयुक्त हुन्छ’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘दुई डुंगामा खुट्टा टेकेर हिंडेको माओवादीलाई अव फकाउनु उपयुक्त छैन ।’
प्रधानमन्त्री ओली त्यस्तो निश्कर्षमा पुग्नुको अर्काे कारण सरकारको लोकप्रियतामाथि विश्वस्त भएर पनि हो । नेपालको इतिहासमै लेखिन लायक हुनेगरी राष्ट्रको निर्णय क्षमताको विकास गरेको र त्यसप्रति आम नागरिकको समर्थनले अर्काे निर्वाचनमा सफलता पाउने प्रधानमन्त्री ओलीको विश्वास छ । आम पहाडी जमत ओलीको पक्षमा खुलेको र सरकारले यसअघिका सबै बजेटलाई माथ गर्नेगरी तराईको विकासका लागि बजेट छुट्याएकाले तराईको जनमत पनि एमालेको पक्षमा हुने ओलीको विश्वास देखिन्छ । सबैभन्दा कठीन स्थितिमा सरकारको नेतृत्व लिएर छोटो समयमा मुलुकलाई सामान्य अवस्थामा पुर्याएको मात्र होइन, निकै ठूला चुनौती सामना गरेर मुलुकलाई भूराजनीतिक उचाइमा पुर्याएको जस पनि सर्वसाधारणले ओलीलाई दिएका छन् । ओलीले गरेका यस्ता कामको जस सरकारमा बसेर लिने अवसर पाएको माओवादी भने सरकार परिवर्तन गर्ने खेलमा सामेल भयो, जसबाट ओली अवाक बन्न पुग्नु भयो ।
‘प्रधानमन्त्री करारमा कर्मचारी नियुक्त गरेजस्तो होइन, उहाँ कुनै दलको करारनामामा सही गरेर सरकार चलाउने मुडमा हुनुहुन्न, आफ्नो कामको औचित्य पुष्टि गर्नुहुन्छ । जुनसुकै दल सरकारमा रहने नरहने निर्णय गर्न स्वतन्त्र छ, आफूले गर्ने कामको औचित्य सावित गर्न छोडेर प्रधानमन्त्री त्यो दलको करारनामामा बाँधिन तयार हुनुहुन्न’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘सरकार छोड्नु छ भने छोडिहालोस् तर, यस्तो अस्थिर र डोलायमान अवस्थामा मुलुकलाई राख्नु हुँदैन ।’
यही निश्कर्षका साथ प्रधानमन्त्री ओली आफूले सरकार छोड्नु परे संसदको ठूलो दल कांग्रेसलाई समर्थन गर्ने मनस्थितिमा पुग्नु भएको स्रोतको दाबी छ । प्रमुख प्रतिपक्षी कांग्रेसलाई देखाएर सरकारमा सहभागि दल माओवादीले अनावश्यक वार्गेनिङ गरेकाले ओली सरकार बाहिर बसेर कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने मनस्थितिमा पुग्नु भएको स्रोतले वतायो । ‘कांग्रेस बहुमतीय सरकारका लागि प्रयास गरेको हो भन्छ, माओवादी सहमतीय सरकारका लागि कांग्रेसले समर्थन दियो भनेर यता वार्गेनिङ गर्छ’ स्रोतले भन्यो, ‘यो निकै ठूलो अवसरवादी वार्गेनिङ हो मुलुकप्रतिको दायित्वबोध होइन ।’
![]() |

0 comments