अढाई वर्षयताकै महँगो भयो चाँदी
7:09 AM![]() |
चाँदीको भाउ आज बुधबार अढाई वर्ष यताकै महँगो भएको छ।
केही दिनदेखि लगातार बढिरहेको चाँदी आज ९ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि चाँदीको मूल्य ९ सय ५ रुपैयाँ २०७० साल मंसिर ३ गते कायम भएको थियो। त्यसपछि आज नै सबैभन्दा बढी मूल्य कायम भएको हो।
गत सोमबार २ वर्ष ४ महिना यताकै महँगो हुँदै ९ सय रुपैयाँ पुगेको चाँदी हिजो मंगलबार स्थिर थियो। तर आज फेरि ५ रुपैयाँ प्रतितोला बढेर चाँदी अढाई वर्ष यताकै महँगो भएको हो।
अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यमा ठूलो वृद्धि देखिएकाले सोअनुसार मूल्य समायोजन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार गत असार १ गते अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस १७ डलर ४७ सेन्ट रहेकोमा आजको दिनमा यो मूल्य बढेर प्रति औंस २० डलरभन्दा बढी पुगेको छ। यसै कारण नेपाली बजारमा पनि चाँदीको मूल्य बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा चाँदीको हालको ट्रेन्ड हेर्दा मूल्य तत्काल नघट्ने सम्भावना रहेको अध्यक्ष शाक्यको भनाइ छ।
गत साताको बिहीबार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एकैदिनमा ८ सय ७० पुगेको थियो। त्यसपछि आइतबार ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै सुनको भाउ पनि आज १ सय रुपैयाँ बढेको छ। मूल्य बढेसँगै सुन आज ५९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन ५८ हजार ९ सयमा कारोबार भएको थियो।
![]() |

0 comments