छोरीको जन्मदिन मनाउन क्याफेमा पुगेका करिम भन्छन्, ‘आतंकवादीले कुरान पढ्न सक्नेलाई छोडे, अरूलाई घाँटी रेटीरेटी मारे’
9:23 PM![]() |
ढाका / आफ्नी श्रीमती र दुई छोरीहरूलाई गए राति ढाकाको गुलशन रोडस्थित होले आर्टिसान क्याफेमा खाना खुवाउन लगेका हसनत करिमले भयावह दृश्य देख्नुपयो । तेह्र वर्ष पुगेकी ठूली छोरी सफाको जन्मदिन मनाइरहेका बेलामा करिम परिवारकै आँखाअगाडि बन्दुकधारीहरू क्याफेमा पसेर विदेशी नागरिक सहित २० जनालाई बन्धक बनाए । ‘अल्लाहु अकबर’को नारा लगाउँदै ती बन्दुकधारीहरू क्याफे छिरेका थिए ।आइएस नामक आतंकवादी संगठनमा आबद्ध ती बन्दुकधारीहरूले बन्धक बनाएका विदेशी नागरिकहरूलाई कुरान पढ्न लगाए । कुरान पढ्न सक्नेहरूलाई उनीहरूले छोडिदिए भने एक दुई पंक्ति पनि पढ्न नसक्नेहरूलाई चरम यातनापश्चात् गला रेटेर हत्या गरे । “ती बन्दुकधारीहरूले बन्धक बनाइएका सबैजनाको धर्म जान्नका लागि कुरान पाठ गर्न लगाए । एक वा दुई मात्र भएपनि आयत पढ्न सक्नेलाई उनीहरूले जान दिए भने अन्यलाई यातना दिए,” करिमले बताए । बंगलादशी नागरिकलाई भने उनीहरूले कुनै दुर्व्यवहार नगरेको बरू सबै बंगलादेशीलाई बेलुकीको खाना इफ्तार खुवाएको करिमले बताए ।
घटनाका प्रत्यक्षदर्शी करिमका अनुसार बन्दुकधारीहरूले स्थानीय समय अनुसार हिजो राति ११ बजेसम्ममा उनीहरूले भेटेजति विदेशी नागरिकहरूलाई घाँटी रेटेर हत्या गरिसकेका थिए । आतंकवादी संगठन आइएसद्वारा सञ्चालित समाचार एजेन्सी अमाकले रगतको आहालमा डुबेका पीडितहरूको तस्वीर ट्विट गरेको थियो । आक्रमणपश्चात् बन्दुकधारीहरूले लगभग १२ घण्टासम्म उक्त क्याफेमा यातना र हत्याको क्रम जारी राखे ।
त्यसपछि सुरक्षाकर्मीको दस्ता त्यहाँ पसेर त्यहाँ रहेका १३ जना बन्धकलाई छुटाउन सफल भए । सुरक्षाकर्मीले गरेको कारबाहीमा ६ आतंकवादी मारिए भने एक आतंकवादीलाई गिरफ्तार गरियो । कारबाहीमा दुई सुरक्षाकर्मीको ज्यान गएको छ । यस घटनामा मारिएका विदेशी नागरिकमध्ये धेरैजसो इटालेली र जापानी रहेको भनी अधिकारीहरूले बताएका छन् । इटालेली नागरिकहरू ढाकाको फेसन इन्डस्ट्रीमा काम गर्ने खुल्न आएको छ । ढाकाको व्यस्त इलाकामा रहेको उक्त क्याफेमा विदेशी नागरिकहरूको बाक्लो उपस्थिति हुने गर्थ्यो । लाेकान्तरबाट
- See more at: http://www.sajhapage.us/%E0%A4%9B%E0%A5%8B%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%9C%E0%A4%A8%E0%A5%8D%E0%A4%AE%E0%A4%A6%E0%A4%BF%E0%A4%A8-%E0%A4%AE%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%95%E0%A5%8D%E0%A4%AF/#sthash.wB5X1b7s.dpuf![]() |

0 comments